दफा ८६
समाह्वान जारी गर्ने
(१) सैनिक अदालत वोलाउने अधिकृत वा सैनिक अदालतको अध्यक्ष वा प्राड विवाक वा अभियुक्तको कमाण्डिङ्ग अधिकृतले सम्बद्ध व्यक्तिलाई कुनै लिखत वा अरू कुरा पेश गर्न वा साक्षी बक्न तोकिएको ठाउँ र समयमा उपस्थित हुन समाह्वान जारी गर्न सक्नेछ ।
(२) कुनै साक्षीको अधीनमा रहेको खास लिखत वा अरू कुनै कुरा पेश गराउनु परेमा सो कुरा स्पष्टरूपमा समाह्वानमा उल्लेख गर्नु पर्नेछ ।
(३) कुनै साक्षी यस ऐनको क्षेत्राधिकारभित्रको व्यक्ति रहेछ भने निजको कमाण्डिङ्ग अधिकृतलाई समाह्वान पठाइनेछ र निजले त्यस्तो समाह्वान तामेल गराउनेछ ।
(४) कुनै प्रमुख जिल्ला अधिकारीको क्षेत्रभित्र कुनै साक्षी रहेको जानकारी भएमा त्यस्तो साक्षीको समाह्वान सोही प्रमुख जिल्ला अधिकारीसमक्ष पठाइनेछ र निजले त्यस्तो साक्षीलाई समाह्वान तामेल गराउनेछ ।
(५) सैनिक अदालतमा साक्षी बक्ने प्रत्येक व्यक्तिलाई बयान गराउनुभन्दा अघि तोकिएबमोजिम शपथ गराइनेछ ।